काठमाडौं महानगरपालिकाले ल्यायो सडक सफा गर्ने ब्रुमर

maitrinews

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि चक्रपथको भित्री सडकमा ब्रुमर चलाएर सडक सफा गर्ने भएको छ। टुँडिखेल र रत्नपार्क आसपासमा सफा गरेर उदघाटन गर्ने काठमाडौं महागरपालिकाले जनाएको छ। पाँचवटा ब्रुमरको उदघाटन एकैसाथ मेयर विद्यासुन्दर शाक्यले गर्न लाग्नुभएको हो। एकसाता अघि इटालियन ब्रुमर काठमाडौं ल्याइएको थियो।

साढे दश करोड खर्च गरेर ब्रुमर ल्याएको महानगरले जनाएको छ। काठमाडौ‌ं उपत्यकाका कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, टुँडीखेल, लैनचौर, लाजिम्पाट, महारजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वरलगायतका क्षेत्रमा ब्रुमरको प्रयोग गरि सफा गरिने महानगरपालिका वातावरण विभाग महाशाखा प्रमुख हरिकृष्ण श्रेष्ठले बताउनुभयो।
यी ब्रुमरहरु नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। पुरानो ब्रुमर बिग्रेर टेकुमा राखिएको छ। यसमा दुईवटा ट्याङ्की छन्। धुलो टिपेपछि पानी छर्केर सडकलाई भिजाउन मिल्छ।

नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन्। यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहितको धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ।

टेकुबाट छुट्ने पाँचवटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै अघि बढ्नेछन् ।

पहिलो रुट टेकुबाट सुरु भई सोल्टीमोड हुँदै कल‌ंकी फेरि सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म पुग्नेछ । त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्मको सडक बढार्नेछ ।

दोस्रो रुट टेकुबाट  त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म ब्रुमर पुग्नेछ । त्यसपछि त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक बढार्नेछ । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ ।