विप्लवको समूहव्दारा लगानी सम्मेलन बिथोल्न मसाल जुलुस र बन्द आहवान

maitrinews

 

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगानी सम्मेलन केन्द्रीत आन्दोलन सुरु गरेको छ । सरकारले मुख्य नेताहरुलाई धमाधम पक्राउ गरिरहेको बेलामा विप्लवले लगानी सम्मेलनलाई केन्द्रमा राख्दै बन्दको घोषणा गरेको हो ।

चैत १३ गतेदेखि चैत २४ गतेसम्म आयोजना गर्न लागेको विभिन्न कार्यक्रमहरु अन्तर्गत् १३ गते विभिन्न शहरहरुमा चोक सभादेखि २४ गते आमसभा सम्मका कार्यक्रमहरु रहेका छन् । यसैको बीचमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको दोस्रो दिन विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

विप्लवले जारी गरेको विज्ञप्तीमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा बन्द गर्न लागिएको बताइएको छ ।
सरकारले आयोजना गरेको लगानी सम्मेलन यही चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ । सो दिन विभिन्न देशका उच्च अधिकारी र लगानीकर्ताहरु नेपालमा आउँदैछन् । सोही दिन नै विप्लवले बन्द आयोजना गरेर सरकारलाई अफ्ठेरोमा पार्ने प्रयास गरेको हो ।