प्रदेश २ मा एसईईको सबै प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द

maitrinews

 

जनकपुरधाम । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो ।

विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्‍यो । लगत्तै प्रदेशका आठवटै जिल्लामा २२ गते हुने गरी परीक्षा स्थगित गरियो ।
शुक्रबार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र भने अघिल्लो रात नै बाहिरियो । प्रश्नपत्र शुक्रबार बिहानसम्ममा समाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

प्रश्नपत्र लिक भएको विषयमा छानविन सुरु भएको छ । तर, प्रारम्भीक रुपमा प्रदेश २ मा सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गरिएको छ ।

यसले बाँकी परीक्षा अन्योलमा परेका छन् भने यसअघि सम्पन्न भएको परीक्षामा पनि प्रश्न उठेको छ ।

प्रदेश २ अन्तर्गतका जिल्लाहरु एसएलसी तथा एसईई परिक्षाको सवालमा विगतदेखि नै बदनाम छन् । ‘यति परीक्षार्थी निष्कासित, यति परीक्षार्थीको परीक्षा रद्द, यति निरीक्षक अमर्यादित क्रियाकलाप गर्दागर्दै पक्राउ परे, बोराको बोरा चिट बरामद’ जस्ता समाचारहरु एसईई परीक्षामा प्रदेश २ बाट आउने गर्थे ।

यसपटक यस्ता समाचार आउन त आए, तर न्यून रुपमा । आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा सकियो ।

बिहीबार र शुक्रबार प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ ।