एसईई: मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने, प्रदेश २ मा अनुसन्धान गर्न सिआइबी खटाइयो

maitrinews

 

काठमाडौँ । एसईईको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरेको हो।

देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन्। साँझ ६ बजेसम्म पश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिको बैठक पुनः बस्नेछ। उक्त बैठकले थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ।शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बैठक बसेक हो।

प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले अनुसन्धान गर्ने भएको छ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो ।सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएको भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो।