डरलाग्दो ऑधि–हुरीबाट बारा–पर्सामा कम्तीमा २५ को मृत्यु, ४ सय भन्दा बढी घाइते

Mohan Bastola

काठमाडौँ । बारा–पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि–हुरीबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु–याएर उपचार भइरहेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि सो कुराको पुष्टि गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुभएको छ– ‘बारा–पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि–हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएको छ। यस आकस्मिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु।

उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको छ,’ उहाँले लेख्नुभएको छ ‘यस दुर्घटनामा हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारी सहित प्रमद्वारा मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।’