हावाहुरीबाट ३४ जनाको मृत्यु , ७०० भन्दा बढी घाइते

maitrinews

 

वीरगञ्ज । आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा ३४ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
यसैबीच,नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं आइपुगेको छ । भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो ।

बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले बताउनुभयो ।

ढकालले भन्नुभयो , ‘गृहमन्त्रालयसँगको काअर्डिनेशनमा हामीले उद्दार गर्ने हो, कुनमा अस्पताल लगिन्छ, टुंगो लागेको छैन ।’

गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ । विमान अवतरण भएलगत्तै झापाका लागि पुनः उड्नेछ । त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर बाराको सिमरातर्फ जानेछ । ओलीले हावाहुरीबाट क्षति पुगेको क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।