ज्याक्सन हाइटमा जीपी कोइराला फाउन्डेसनको कार्यालय स्थापना

maitrinews

 

न्युयोर्क । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालको नाममा स्थापना गरिएको जीपी कोइराला फाउन्डेसन अमेरिकाले यही मार्च ३१ मा ज्याक्सन हाइटको ७२—२४ ब्रोडवेको ३३ तलामा कार्यालय स्थापना गरिएको छ ।
सन् १९७६ को जुन १३ मा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले भारतको मुम्वईको मुलुन्द भन्ने स्थानमा स्थापना गरेको प्रथमा जनसम्पर्क समितिका संस्थापक सदस्य मोहनसिंह विष्टले उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्री विष्टले नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेसले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले यो फाउन्डेसनले साह्रै राम्रो काम गर्न लागेकाले सबैले यसलाई सहयोग गरी सफल बनउन सबैलाई आह्वान गर्नुभयो ।
हालै स्थापना गरिएको उक्त जीपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष तथा समारोहका सभापति सोमनाथ धिमिरेले फाउन्डेसनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले अमेरिकामा नेपालीभन्दा पछि आएका विभिन्न समुदायले राज्यको विभिन्न तहमा पुगी सुविधा लिएको तर नेपालीले केही गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले अव यो अवस्थाबाट पार भई नेपालीहरुका लागि यो फाउन्डेसनले केही गर्न लागेको छ भन्दै यसका लागि सबैको सहयोग र सुझावको खाँचो छ भन्नुभयो ।
फाउन्डेसनले अमेरिकामा बसेका नेपालीहरुको अध्यागमन समस्याको समधान गर्न निःशुल्क रुपमा काम गर्ने, निःशुल्क औषधि उपचारको सहयोग गर्ने, शिक्षामा निःशुल्क सेवा गर्ने कुरा पनि उहाँले स्पष्ट गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले फाउन्डेसनको कार्यका प्रशंसा गर्दै सफलताको कामना गर्नुभएको थियो । कार्यक्रम फाउन्डेसनका महासचिवले सञ्चालन गर्नुभएको थियो ।