हावाहुरी पीडितलाई संघीय सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

maitrinews

झापा । सोमबार बिहान गृहजिल्ला झापास्थित नेकपा दमक नगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहित भएको बताउनुभएको छ । उहाँले प्राकृतिक विपत्ती भएकाले यसका पीडितलाई सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले घटनालगत्तैदेखि सरकारले पीडितको उद्धार तथा राहतमा खटिन आफ्ना सबै संयन्त्र परिचालन गरिसकेकाले थप गर्नुपर्ने कार्यहरु पनि गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बिनाशकारी भूकम्पमा जस्तै बारा र पर्सामा हावाहुरीबाट भएको क्षति पछिको अवस्थामा खटिन पार्टी पंक्ति र अन्य संघसंस्थालाई आग्रह गर्नुभयो । उहाँले प्रदेश २ को सरकारले पनि पीडित परिवारलाई केही सहयोग गर्ने निर्णय गरिसकेकाले नदोहोरिने गरी संघीय सरकारले पनि पीडित परिवारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले घटनास्थलको अवलोकनपछि हावाहुरीले भत्किएका घरहरु बनाउनेतर्फ संघीय सरकारले कदम चाल्ने बताउनुभयो ।

‘रातिको घटनाबाट म मर्माहित भएको छु । घटनास्थलको अवस्था हेर्न वीरगञ्ज जाँदैछु । पीडित परिवारलाई प्रदेश सरकारले पनि केही सहयोग गर्ने निर्णय गरिसकेको छ । संघीय सरकारले के सहयोग गर्न सक्छ अवलोकनपछि हामी त्यसबारे निर्णयमा पुग्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो,‘कति घर भत्किएका रहेछन् । संघीय सरकारले भत्किएका घरहरु बनाउन सहयोग गर्छ ।’

प्रधानमनत्री ओली गृहजिल्लाका केही कार्यत्रम स्थगित गरेर वीरगञ्जतर्फ लाग्नुभयो । ओलीले वीरगञ्ज जानुअघि सोमबार बिहान नेकपा दमक नगर कमिटीको सपथ ग्रहण र नवनिर्मित दमक पशुपन्छि हाटको उद्घाटन गर्नुभएको थियो ।