प्रमद्वारा बाराको हवाई निरीक्षणपछि घाइतेहरुको अवस्थाबारे जानकारी

maitrinews

बारा । प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भएको छ । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराउनुभयो । यसक्रममा आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

घटनाको जानकारी लिइसकेपछि प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिनुभयो । प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले कलैया अस्पतालमा रहेका बिरामीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।