स्वास्थ राज्यमन्त्रीबाट धोबीघाटस्थित कन्या सुरक्षा सर्कल स्तम्भ उद्घाटन

maitrinews

 

ललितपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवज्यूबाट जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा निर्मित कन्या सुरक्षा सर्कल स्तम्भको उद्घाटन गर्नुभयो । यो स्तम्भ समणी सन्मति प्रज्ञाज्यू तथा समणी खुश्बु प्रज्ञाज्यूको सानिध्यमा अखिल भारतीय तेरापन्थ महिला मण्डलको निर्देशनमा अखिल भारतीय तेरापन्थ महिला मण्डलकी राष्ट्रिय अध्यक्षा श्रीमती कुमुद कच्छारा तथा नेपाल–सिक्किम प्रभारी रञ्जु लुनियाको समुपस्थितिमा श्री जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)द्वारा ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको हो । गुरु आचार्य श्री महाश्रमणज्यूको अहिंसात्मक सन्देशलाई समाजमा प्रभावकारी रुपमा सम्प्रेषित गर्न यस कन्या सुरक्षा सर्कल स्तम्भको निर्माणले कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यस स्तम्भको निर्माण गरिएको कुरा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्षा श्री रश्मी जैनले बताउनु भयो । यस संस्थाले महिला जागरण, कन्या सुरक्षा तथा अहिंसाको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र ती कार्यक्रमहरु मार्फत समाजमा महिलाको सुस्वास्थ तथा शिक्षामा जोड दिई महिलालाई आत्मनिर्भर बनाउन यस किसिमका कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने कुरा उक्त अवसरमा जानकारी गराइएको थियो ।
यस कार्यक्रममा माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर श्री गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । ललितपुर महानगरपालिकाकी उपमेयर श्री गीता सत्यालले कन्या भू्रण हत्या रोकथामदेखि कन्याको सुरक्षा तथा कन्याको चौतर्फी विकास गरी देश विकासमा महिलाहरुको सहभागितालाई बढाउने हेतुले जुन स्तम्भको निर्माण गरिएको छ यो अति नै प्रशंसनीय रहेको विचार व्यक्त गर्नु भयो । साथ साथै स्तम्भ बनाउनका लागि स्थान उपलब्ध गराउनेदेखि अन्य कुराहरुको सहयोगका लागि पनि जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)ले ललितपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरेको छ । यस स्तम्भ निर्माण कार्यले कन्या सुरक्षाको सम्बन्धमा सचेतना जगाउने विश्वास यस संस्थाले लिएको छ ।