हावाहुरीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, मृतकका परिवारलाई पाँच–पाँच लाख दिने नेकपाको घोषणा

Mohan Bastola

काठमाडौँ । आइतबार साँझ बारा र पर्सामा आएको हावा–हुरीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले दिएको जानकारी अनुसार मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएसँगै हावा–हुरीमा परी ज्यान जानेको संख्या २८ पुगेको हो । पौडेलका अनुसार उपचारका क्रममा फेटा गाउँपालिकाका पाँच वर्षीय खयाग आलमको मृत्यु भएको हो । यस अघि नै बारामा २६ र पर्सामा १ जना गरी २७ को मृत्यु भइसकेको छ । ८ जनाको नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको बारा जिल्ला प्रशासनले जानकारी दिएको छ ।

आइतबार साँझ आएको विनासकारी हावा–हुरीका कारण बारा र पर्सामा ठूलो मात्रामा भौतिक संरचनाको समेत क्षति भएको छ । हावा–हुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको ठूलो क्षति भएको हो ।

ती जिल्लामा हावाहुरीबाट मानवीय र भौतिक क्षतिपछि त्यहाँ सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । विभिन्न राजनीतिक दल, प्रदेश सरकार, संघ–संस्थाले सहयोगको घोषण गरेका छन् । हावाहुरीले निम्त्याएको विप्पती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बारा र पर्सा जिल्ला पुग्नु भएको थियो उहाँले त्यहाँ पुगेर विभिन्न अस्पतालमा उपचाररत विरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले सरकार र पार्टीका तर्फबाट सहयोगको घोषणा गर्नुभएको थियो । उहाँले हिजै नेकपाका संघीय संसद्का सांसदको एक दिनको तलब राहत दिने घोषणा गर्नुभएको थियो । उहाँसँगै उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादललगायत पनि जानु भएको थियो ।

आज मात्रै पनि नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता हावाहुरी प्रभावित क्षेत्रमा पुग्नु भएको छ । देउवाले हावाहुरी प्रभावितहरुलाई कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो भने अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाका परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीसँग कुराकानी भएको भन्दै घाइते सबैको उपचार खर्च सरकारले व्यहोर्ने पनि घोषणा गर्नुभयो । त्यसैगरीप्रदेश नम्बर तीन सरकारले पनि एक करोड दिने घोषणा गरेको छ भने सुदुरपश्चिम सरकारले पनि एक करोड दिने घोषणा गरेको छ । प्रदेश दुई सरकारले पनि सहयोगको घोषणा गरेको छ । विभिन्न राजनीतिक दल र संघ–संस्थाले सहयोगको घोषणा गर्ने क्रम जारी छ ।