पीडितलाई छानामुनीको अभियान लिएर युवा–विद्यार्थी हावाहुरी प्रभावित क्षेत्रमा

Mohan Bastola

काठमाडौँ । आइतबार साँझको हावाहुरीबाट प्रभावित बारा र पर्सा जिल्लाका प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलका भ्रातृ संगठन र संघसंस्था अहिले राहत बोकेर पुगेका छन् । अनेरास्ववियु, अखिलक्रान्तिकारी, युवासंघ, वाईसीएल, नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका संघठन अहिले पनि हावाहुरी प्रभावित जिल्लामा राहत बोकेर पुगेका छन् । युवा संघ नेपाल र वाइसीएल नेपाल अहिले एक टोलीसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । ‘पीडितलाई छानामुनीको अभियान’ लिएर युवा संघका अध्यक्ष रमेश पौडेलसहितको टोली प्रभावित क्षेत्र पुगेको हो ।

प्रभावित क्षेत्रमै रहनु भएको युवा संघका अध्यक्ष पौडेलले अहिले दुबै संगठन उद्धार र राहत कार्यमा सक्रिय बनेको जानकारी दिनुभयो । हावाहुरीबाट सबै भन्दा बढी प्रभावित क्षेत्रका गाउँ–गाउँमा अहिले युवा संघ र वाईसीएल राहत र उद्धार कार्यमा सक्रिय रहेको भन्दै उहाँले अब कम्तीमा १५ दिन ‘पीडितलाई छानामुनीको अभियान’ सहित ती क्षेत्रमा रहने उहाँले जानकारी दिनुभयो ।

युवा संघ र वाइसीएल मात्र होइन अहिले अखिल र अखिल क्रान्तिकारी पनि प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रमसहित पुगेका छन् । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि अखिल र अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा पुगेको जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल विद्यार्थी संघ, तरुण दललगायतका विद्यार्थी संगठन पनि अहिले राहत बोकेर प्रभावित क्षेत्र पुगेको छन् । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मेघा शाही पनि आफ्नो संगठन प्रभावित क्षेत्रमै रहेको बताउनुहुन्छ । यसरी विभिन्न राजनीतिक दलका भ्रातृसंगठन र संघ–संस्था राहत बोकेर प्रभावित क्षेत्र पुग्नु सकारात्मक भए पनि केही संघ–संस्था भने सानोतिनो राहत बोकेर ठूलो प्रचारसहित प्रभावित क्षेत्र पुग्दा त्यसले नकरात्मक सन्देश दिने बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल बताउनुहुन्छ । सोमबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत वितरणलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गरेको भन्दै प्रमुख जिल्ला अधिकारी पौडेल सकेसम्म समितिसँग समन्वय गरेर राहत वितरण गर्न सुझाव दिनुहुन्छ । ।