काँग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने चेतावनी

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला आजबाट काठमाडौंमा सुरु भएको छ । महासमिति बैठकमा उठाएका एजेण्डा नेतृत्वले लत्याएपछि उनीहरुले थप रणनीति बनाउन भेला बोलाएका हुन् । भेलाबाट पार्टीको संशोधित विधानमा गरिएको स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे पुनर्विचारका लागि पार्टीलाई दबाब दिने असन्तुष्ट जिल्ला सभापतिहरुले तयारी गरेका छन् ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको संयोजनमा हुन गइरहेको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ । जिल्ला सभापतिहरुले भेला हुने स्थान भने खुलाएका छैनन् । ‘‘भेला काठमाडौंमै हुन्छ । भेला हुने स्थान गोप्य राखिएको छ,” असन्तुष्ट सभापतिहरु माझ समन्वयकारी भूमिका खेल्दै आएका कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले भने ।

उनले भेलामा ४५ भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहने पनि दाबी गरे । ‘‘हामीले उठाएको एजेण्डा साझा एजेण्डा हो । साझा रुपमा महासमितिमा प्रस्तुत पनि गरेका हौं भनेर ७७ वटै जिल्लाका सभापतिहरुलाई बोलाएका हौं । तर ४५ भन्दा बढी सभापतिज्यूहरु सहभागी हुनुहुन्छ होला,’’ केसीले भने, ‘‘यसै विषयमा छलफल गछौं । सरकारका गतिविधिका बारेमा पनि छलफल हुन्छ । त्यस्तै मधेसमा हावाहुरीले पु¥याएको जनधनको क्षतिका बारेमा छलफल गरेर केही न केही निष्कर्ष निकाल्छौं ।’’

महासमिति बैठकमा जिल्ला सभापतिहरुले केन्द्रीय पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था खारेज हुनुपर्ने र समानुपातिक समावेशी सुविधा एकै व्यक्तिमा दोहो¥याउन नहुने प्रस्ताव गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिको समापन समारोहमा उनीहरुको माग केन्द्रीय कार्यसमिति बैठकबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।