प्रधानमन्त्री ओली भन्नुहुन्छ– ‘सर्वभौमसम्पन्न जनतालाई रैती बनाउने सपना नदेखे हुन्छ’

Mohan Bastola

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासको महाअभियानमा सरिक रहेको भन्दै यसमा पक्ष–विपक्ष नभनी सहकार्य गरेर देश निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले विकासका लागि राजनीतिक स्थिरता र नीतिगतआधार तयार भएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेको स्मरण गराउँदै अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको प्रष्ट पार्नुभयो । मुलुकमा जनताले बहुमत दिएर पठाएको सरकार रहेको भन्दै उहाँले यसले विकासमा स्पष्ट नीति लिने र तिनै नीतिहरुको आधारमा योजना बनाई कार्यान्वयन गर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक परिवर्तन आर्थिक समृद्धिका लागि अनुकुल बनेको पनि दाबी गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले नेपालको विकासको प्रयासलाई साथ सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक रहेको बताउनुभएको छ । हालै सम्पन्न लगानी सम्मेलनमा छिमेकी देशका लगानीकर्ताहरुको उत्साहपूर्वक सहभागिताले त्यसै कुराको संकेत गरेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले विकासका महत्वकांक्षी योजना लिएर सरकार अघि बढ्ने पनि बताउनुभयो । उहाँले भौतिक विकास, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा महत्वकांक्षी योजना कार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्नेमा जोड दिनुभयो । कृषिमा यान्त्रिकिकरण गरेर उत्पादकत्व बढाउने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । राष्ट्रिय विकास परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले १५ औं योजनाले पाँच बर्षको विकासको योजना मात्र प्रस्तुत गरेको नभइ यस शताब्दीको अन्त्यसम्ममा नेपालको विकासको प्रारुप तयार गरेको स्पष्ट पार्नुभयो । उहाँले यस योजनाले विं सं २०९९ सम्ममा नेपालको विकासको अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट खाका दिएको पनि बताउनुभयो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै कसैले भत्काउन नसक्ने डेमोक्रेसी प्राप्त गरेको पनि स्मरण गराउनुभयो । उहाँले कसैले अधिकार सम्पन्न र सर्वभौमसम्पन्न जनतालाई रैती बनाउने सपना देख्छ भने त्यो सपना मात्रै हुने पनि प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता नेपाली समाजको चरित्र बनेको भन्दै सामाजिक असन्तुष्टि निर्माण तर्फको ट्रेनको अन्त्य भएको दाबी समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको रुपमा आत्मसात गरेको भन्दै सरकारको ध्यान त्यसैतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी योजना थप परिष्कृत भएर आउनु पर्ने बताउनुभयो । उहाँले चौधौं योजनाले लिएका कतिपय लक्ष्य नजिक पुगेको सन्तोष व्यक्त गर्दै आगामी योजना थप परिष्कृत भएर आउनु पर्नेमा जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले चौधौं योजनाले राखेको आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखिएकोमा अहिले त्यसको नजिक पुग्न लागिएको बताउनुभयो । उहाँले दिर्घकालिन सोच सहितको आगामी ५ वर्षे योजना अघि बढाएको भन्दै सरकारको आगामी कार्यकालको योजना पनि यहि रहेको स्पष्ट पार्नुभयो ।