रेडियो नेपाललाई १६ जवानीतिर फर्काउनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

Mohan Bastola

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल आम जनताको प्रतिनिधित्व गर्ने प्रसारण संस्था भएकाले यसले निरन्तर देश र जनताको आवाज बोक्नु पर्नेमा जोड दिनुभएको छ । रेडियो नेपालको ६९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले रेडियो नेपाल कला, संस्कृति र मुलुकलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताउनुभयो । उहाँले अब रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाका रुपमा परिवर्तन गरिने पनि जानकारी दिनुभयो ।

उहाँले रेडियो नेपालले आवाजविहिनहरुको आवाज बोल्न आन्तरिक क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुहुँदै अबको एक वर्षमा रेडियो नेपालमा आमूल परिवर्तन आउनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।
उहाँले रेडियो नेपाल जनताको संस्था भएको भन्दै निरन्तर जनताको आवाज बोकेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले रेडियो नेपाललाई १६ वर्षे जवान तिर फर्काउनु पर्ने भन्दै थप उर्जा र उत्साहका साथ काम गर्न कर्मचारी र प्रशासनलाई थप उत्प्रेरणा दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले प्रसारणका क्षेत्रमा गरेको एक वर्षको कार्यक्रमको विवरण प्रस्तुत गर्नुभयो । उहाँले प्रजातन्त्रको उदय सँगै स्थापना भएको रेडियो नेपालले यो अवस्था सम्म आइपुग्दा सूचना प्रवाहमा महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालले रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मानबाट भजन शिरोमणी वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य र जनगायक तथा वरिष्ठ संगीतकार जेवी टुहुरेलाई ५१ हजार राशी सहित ताम्रपत्र र सम्मानपत्रले सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले आफ्ना पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । रडियो नेपालको ६९ औं वािर्षकोत्सवका अवसरमा देशभरबाट राष्ट्रिय गीतसंगीत प्रतियोगितामागायनतर्फ प्रथमस्थान हासिल गर्ने सुरेश लामा, संगीततर्फ बलराम समाल र रचनातर्फ आनन्द अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।

यसै अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्ध सेवा पदकबाट सम्मानित गरेको छ । कार्यक्रममा रेडियो नेपालको ६९ औं वािर्षकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद र वक्तृत्वकला प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

त्यसैगरी रेडियो नेपालले उत्कृष्ट कर्मचारी सम्मानबाट इन्जिनियरिङ महाशाखाकाप्राविधिकसीताराम श्रेष्ठलाई सम्मान गरेकोे छ । रेडियो नेपालको उत्कृष्ट स्थानीय संवाददाता सम्मानबाट प्रदेश नम्वर २ बाट नेहा झा, प्रदेश नम्बर ४ बाट रोशन तिवारी र प्रदेश नम्बर ५ बाट डायलसन अधिकारीलाई सम्मानित गरेको छ । ६९ औं वार्षिकोत्सवका अवसरमा रेडियो नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आएको संस्था इक्वल एक्सेसलाई पनि सम्मान गरिएको थियो । विसं २००७ मा प्रजातन्त्रको उदयसँगै रेडियो नेपालको स्थापना भएको थियो ।