काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा मनाइयो

maitrinews

 

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्योको जनश्रृति रहेको छ ।त्यही भयलाई समाप्त गर्न प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि जोखिम नहोस् भनी यसै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट शुक्रबार नै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनहरु गरिन्छ । यसै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ ।