भिक्षु अश्वघोष महास्थविर रहेनन्

maitrinews

काठमाडौं । नेपालका संघनायक भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा आज निधन भएको छ ।
टोखास्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा दिउसो १ः ३० बजे उनको निधन भएको हो । रक्तचाप , मृर्गौला , मुटुमा समस्या र कलेजोमा पानी जमेको समस्याबाट ग्रसित भिक्षुको स्वास्थ्य तीन सातादेखि गम्भीर बन्दै गएको थियो । केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो । बुद्धको धर्मका विविध पक्षलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी शिक्षासंग जोडेर अध्ययन गर्ने धारको शुरुआत गर्नुभएका भिक्षु अश्वघोषलाई प्रगतिशील र सक्रिय भिक्षुको रुपमा चिनिन्छ । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो । त्यसैगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो । भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । उहाँ नेपालमा भिक्षु संघको तालिमको अवधारणा भित्रर्याउने पहिलो भिक्षु पनि हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि उहाँले स्थापना गर्नुभएको संघाराम भिक्षु तालिम केन्द्रमा लगिने भएको छ ।