जनआन्दोलन दिवस चैत २४ ले दिएको सन्देश

maitrinews

काठमाडौं । चैत २४ गते आज २९ औं जनआन्दोलन दिवस। २०४६ को जनआन्दोलनको बलमा ३० बर्से निर्दलीय पञ्चायती शासकलाई घुँडा टेकाएको दिन। तत्कालीन वाममोर्चा र कांग्रेसले गरेको संयुक्त आन्दोलन उत्कर्षमा पुगेको थियो, २०४६ चैत २४ गते। आन्दोलन थेग्न नसकेर तत्कालीन राजा वीरेन्द्रले मरिचमानसिंह श्रेष्ठलाई प्रधानमन्त्रीबाट हटाएर पछि हट्न खोजेको सन्देश दिएका थिए।

पूर्वप्रधानमन्त्री तथा तत्कालीन वाममोर्चाका तर्फबाट आन्दोलनका संयोजकसमेत रहेका डा।बाबुराम भट्टराई भन्छन्, ‘चैत २४ गते वाममोर्चाका तर्फबाट हामीले नेपाल बन्द घोषणा गरेका थियौं। जनताले विद्रोह गरे। परिणामस्वरूप राजा वीरेन्द्रले चैत २६ गते वाममोर्चा र कांग्रेससँग सम्झौता गरेर बहुदलको घोषणा गरेका थिए।’

चैत २४ राजनीतिक परिवर्तनका लागि अर्को महत्वपूर्ण दिन पनि मानिन्छ। दोस्रो जनआन्दोलनको सुरुवात पनि दलहरूले ०६२ चैत २४ मा नै थालेका थिए। त्यसले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्‍यो। ०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो। लौह पुरुष गणेशमान सिंह नेतृत्वको अहिंसात्मक आन्दोलन थियो त्यो। शान्तिपूर्ण सत्याग्रही आन्दोलनबाटै शासकलाई घुँडा टेकाउन सकिने महत्वपूर्ण नजिर स्थापित भएको थियो।

दलहरूले ०६२ चैत २४ मा नै थालेको दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्‍यो।

०४६ को आन्दोलनमा छिमेकी भारतको पनि सहयोग थियो। गणशेमान सिंहको चाक्सीबारीस्थित निवासमा त्यसबेला भारतीय नेता चन्दशेखरलगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए। आन्दोलन उत्र्कषमा पुगेको यही दिनको स्मरणमा राजनीतिक दलहरूले जनआन्दोलन दिवस विविध कार्यक्रमसहित मनाउँछन्। तर जनआन्दोलनमार्फत राजनीतिक परिवर्तन गरेका दल आन्दोलन दिवस कुन दिन मनाउने एकमत हुन सकेनन्। केही दलले २४ चैत र केही दलले २६ चैतलाई जनआन्दोलन दिवस मनाउँदै आएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई ०६२÷६३ को दोस्रो जनआन्दोलन थाल्दा पहिलो जनआन्दोलन दिवस कुन दिन मान्नेमा पनि तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच लामै बहस भएको स्मरण गर्छन्। ‘७ दल–माओवादी १२ बुँदे सहमतिपछि हामीले संयुक्त आन्दोलन घोषणा गरेका थियौं। तर कुन दिन गर्ने ठूलो बहस भयो,’ उनी भन्छन्, ‘हामी २४ चैतमा र कांग्रेस÷एमाले चैत २६ मा सुरु गर्ने पक्षमा हुनुहुन्थ्यो। ठूलै बहस भयो। पछि २४–२६ हामीले छुट्टै नेपाल बन्द घोषणा गर्‍यौं र २६ देखि संयुक्त आन्दोलन सुरु गरेका थियौं।’

त्यसरी सुरु जनआन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धीको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन्। जनआन्दोलनको भावना र मर्म बिर्संदै गएका दलले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन्। ०४६ को जनआन्दोलन मात्र होइन, ०६२÷६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो। पहिलोले राजाले लादेको पञ्चायती व्यवस्थालाई बहुदलीय व्यवस्थामा रूपान्तरण र राजाको निरंकुशता अन्त्य गरेको थियो। राजाले फेरि आफूमा अधिकार केन्द्रित गर्न खोज्दा दोस्रो जनआन्दोलनले २ सय ४० वर्षदेखि एकछत्र राज गर्दै आएको राजतन्त्र नै उखेलिदियो।

यी दुवै जनआन्दोलनलाई जनताको अधिकार प्राप्तीको महत्वपूर्ण कोसे ढुंगाका रूपमा स्मरण गर्नुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘नेपालमा जनआन्दोलनले ठूलो उपलब्धी दिएको छ। प्रतिगमन सच्याएर, पञ्चायत फालेर बहुदल जनआन्दोलनले नै ल्यायो, फेरि अर्कोपटक जनताले आन्दोलन गरेर राजतन्त्र नै फालेर जनताको युगमा, लोकतन्त्रको युगमा देश फर्काउन सफल भएको छ,’ उनले भने, ‘यस अर्थमा पनि यसको महत्व अझै बढेको छ, जनआन्दोलनमा जनताको योगदान र बलिदान बिर्सन सकिन्न।’

आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेर अघि बढेका राजाविरुद्ध २४ चैत ०६२ बाट कांग्रेस, एमालेसहित ७ राजनीतिक दल र माओवादीले संयुक्त जनआन्दोलन घोषणा गरेका थिए। जनआन्दोलन उत्कर्षमा पुगिरहेका बेला ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्र ‘जनताको नासोको रूपमा रहेको राजकीय सत्ता जनतालाई नै फर्काउन’ बाध्य भएका थिए।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जनआन्दोलनले नेपालमा राजनीतिक परिवर्तनका सबै उपलब्धी ल्याएको बताउँछन्। ‘जनआन्दोलनले उथलपुथलकारी परिवर्तन ल्यायो। राजतन्त्र सकियो, गणतन्त्र आयो, एकात्मक राज्य सकियो, संघीयता आयो, अशुंवर्माको पालादेखिको हिन्दु राज्य सकियो, धर्मनिरपेक्ष राज्य आयो। ज्यादै ठूलो राजनीतिक परिवर्तन भयो’, उनले भने।