सहमति नजुटेपछि काँग्रेसको बैठक स्थगित

maitrinews

 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच सहमति खोजेर केन्द्रीय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले बताए । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।
कांग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ । विभाग गठनका लागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ ।