नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ

maitrinews

कतार  ।  कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए ।

उनले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने दावी गरे । ‘समुद्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण छ, सभामुख महरालेभने,‘यसका लागि नेपाल–कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ’ सभामुख महराले भेटमा भने ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै  सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराए ।

छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको भन्दै सभामुख महराले नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेकाले कृषि,पर्यटन,ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरेको महराको सचिवालयले जनाएको छ । त्यसक्रममा कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरेका थिए ।

‘कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भने, ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो’ महराको भनाई छ ।