आयोगका पदाधिकारीको म्याद सकिँदै , द्वन्द्वकालमा २ हजार २८९ जना बेपत्ता

maitrinews

 

काठमाडौं । विगतको द्वन्द्वका घटनाका बारेमा छानबिन र सत्यतथ्य पत्ता लगाउन बनेका दुई महत्वपूर्ण आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगका पदाधिकारीहरु आफ्नो चार वर्षे कार्यकाल सकेर यही चैत मसान्तसम्ममा विदा हुने भएका छन् ।
उनीहरुले अहिलेसम्म गरेको कामको बारेमा बेपत्ता आयोगले प्रधानमन्त्रीलाई ४९१ पेजको प्रतिवेदन पठाए पनि सत्य आयोगले भने प्रतिवेदन बनाएको छैन । बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले भने, ‘‘हामीले प्रधानमन्त्रीलाई नै भेटेर प्रतिवेदन बुझाउने प्रयास गरेका थियौं । तर, उहाँले समय नदिएकाले हामीले सचिवालयमा दर्ता गरेर आएका छौं ।’’

द्वन्द्वकालमा २ हजार २८९ जना बेपत्ता

उनका अनुसार बेपत्ता आयोगले करिब ८० प्रतिशत काम सकेको छ । बाँकी काम भने कर्मचारी र कानुनको अभावले गर्दा पूरा हुन नसकेको उनको भनाइ छ । ‘‘अब हामी विदा हुन्छौं । नयाँ पदाधिकारी छनौटको प्रक्रिया शुरु भएको छ । तर सरकारले मद्दत नगर्ने हो भने नयाँ पदाधिकारी ल्याएर पनि काम हुन सक्दैन,’’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।

नयाँ पदाधिकारी छनौटका लागि सरकारले नियुक्त गरेको सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको आयोगले आइतबार मात्रै आफ्नो कार्यविधि तय गरेको थियो । सो कार्यविधि अनुसार समितिले दुवै आयोगमा अध्यक्ष तथा सदस्यहरु छनौटका लागि एक हप्ताको म्याद राखेर सार्वजनिक सूचना जारी गर्नेछ । आवेदनमा परेका नामलाई त्यसपछि सिफारिस समितिले छनौट गर्ने बताइएको छ ।

अहिले विदा हुन लागेको बेपत्ता आयोगको टोलीमा अध्यक्ष मल्लिक तथा सदस्यहरुमा बिजुल बिक दुलाल, प्राडा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङ रहेका छन् ।

उता सत्य निरुपण आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ्ग र सदस्य लीला उदासी खनालले गएको माघ महिनामा नै पदबाट राजीनामा दिएका थिए । तर, उनीहरुको राजीनामा स्वीकृत गरिए–नगरिएको यकिन छैन । सो आयोगका अन्य सदस्यमा श्रीकृष्ण सुवेदी, डा माधवी भट्ट पराजुली र मञ्चला कुमारी झा भने काम गरिरहेका छन् । राजीनामा दिएका दुई जना भने सोही समयदेखि काममा आएका छैनन् ।

आयोगका सदस्य भट्टले भनिन्, ‘‘हाम्रो बैठक नै बस्न नसकेकोले रिपोर्ट बुझाउनेतिर हामीले ध्यान दिएनौं ।’’