समृद्धि नेपाल निर्माणका लागि राजनीतिज्ञ, कर्मचारीतन्त्र, उद्योगी, व्यापारी, सबैले आ–आफ्नो क्षेत्रबाट नेतृत्व गर्नुपर्छः प्रधानमन्त्री

Mohan Bastola

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल निर्माणका लागि राजनीतिज्ञ, कर्मचारीतन्त्र, उद्योगी, व्यापारी, सबैले आ–आफ्नो क्षेत्रबाट नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घकोे १६ औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले जनताले स्थायी सरकार, संघीयता सबै कुरा दिइसकेको स्मरण गर्दै अब कसैलाई अपजस लगाएर र दोष थुपारेर नभई आ–आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरपेक्ष गरिबीको रेखामुनी भन्ने कुरा आगामी ४ वर्षभित्रमा इतिहास बन्ने ठोकुवा पनि गर्नुभयो । उहाँले अहिले पनि केहि सामान्य समस्या रहेको स्विकार गर्दै समाधान नै गर्न नसक्ने खालका समस्या नरहेको प्रष्ट पार्नुभयो । उहाँले अहिलेको समय असन्तुष्टि पोख्ने समय नभई काम गर्ने समय भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले मुलुकमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतत्वको सरकार रहेको स्मररण गर्दै केहि शक्ति वर्तमान सरकारले जे गरेपनि विरोध मात्रै गर्नुपर्छ भन्ने हिसाबले लागेको भन्दै गुनासो गर्नुभयो । उहाँले अकर्मण्यता फैलाउने ध्याउनमा रहेको शक्तिहरुको दिन गएको भन्दै अबको समयमा त्यस्ता कुरा नबिक्ने पनि प्रष्ट पार्नुभयो ।  प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुलाई संकेत गर्दै सबै मिलेर अगाडि बढ्ने हो भने दोहोरो अंकको आर्थिक वृद्धिदर कुनै ठूलो कुरा नभएको दाबी गर्नुभयो ।

उद्योगी व्यवसायीहरुलाई रोजगारीको अवसर सिर्जना हुने ठाउँमा लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह पनि गर्नुभयो । उद्योग व्यवसायका लागि योजना ल्याउन आग्रह गर्दै कानुनी उल्झन आए तत्काल समाधान गर्न सरकार तत्पर रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘औद्योगिक विकासको बाटो खुलेको छ, नियम कानून क्रमशः परिमार्जन हुँदैछन, शासकीय सुधारका कामलाई पनि गतिशील तुल्याइएको छ ।’ सेवा र वस्तुको निर्यात गर्ने अवस्थामा नेपाल रहेको छ भन्दै उहाँले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउनुभयो ।