प्रजातन्त्र ल्याउन जनउत्साहको त्यो क्षण चैत्र २६

maitrinews

 

काठमाडौं । २०६२–६३ को जनआन्दोलनसम्म निकै सम्झनामा रहेको चैत २६ को दिन बिस्तारै विस्मृतितिर धकेलिँदै गइरहेको छ ।
२०४६ साल चैत २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले जनतालाई बहुदलसहितको प्रजातन्त्र दिएका थिए । लामो समयसम्म तत्कालीन दलहरुले गरेको जनआन्दोलनपछि मुलुकले बहुदल पाएको थियो ।

वीरेन्द्रले राजसंस्था नै खतरामा पर्न सक्ने देखेपछि बहुदल स्वीकारेका थिए । तर वीरेन्द्रको वंश नै नाश हुने गरी २०५८ जेठमा दरबार हत्याकाण्ड भएपछि एकाएक माहोल बदलियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाको बागडोरमात्र सम्हालेनन् २०६१ माघ १९ गते शाही शासन नै लगाए ।
त्यसपछि फेरि दलहरु एकजुट भए र २०६२–६३ को दोस्रो जनआन्दोलन गरे । १९ दिनको रस्साकस्सीपछि २०६३ बैशाख ११ गते राजाले जनताको नासो जनतालाई फिर्ता दिए ।
जसरी ज्ञानेन्द्रले सत्ता हत्याएका थिए त्यसरी नै राजसंस्थालाई पनि २०६४ को निर्वाचनले फाल्यो ।
लोकतन्त्र आयो । यो लोकतन्त्रले बहुदललाई बिर्सियो । चैत २६ लाई बिर्सियो ।

परिवर्तनलाई सदुपयोग नगर्दा मुलुकले कुन रुप लिन्छ भन्ने पत्तो लगाउन कठिन पर्छ भनेझैं अहिले लोकतन्त्रको गति त्यस्तै भइरहेको छ ।