डाक्टरहरुले गरिरहेको आन्दोलन संघीयता र संविधान विरोधी

maitrinews

काठमाडौं   । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनको विरोधमा डाक्टरहरुले गरिरहेको आन्दोलन संघीयता र संविधान विरोधी भएको बताउनुभएको छ ।

प्रेस क्लबले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा जाँदैनौ भन्नु संघीयता विरोधी काम भएको बताउनुभयो ।  सरकारको निर्णय नमान्ने र संविधान विरोधी मागहरु राखेर आन्दोलन गर्ने चिकित्सकहरुसँग वार्तासमेत नहुने मन्त्री पण्डितले बताउनुभयो ।

‘हामी समायोजनमा जान्नौं, हामी केन्द्रीय प्रणालीमा मात्र बस्नु पर्छ र संघीय प्रणाली हामीमा लागू हुनु हुँदैन भन्नु संघीयता र संविधान विरोधी हो । ‘संविधान विपरित काम सरकार गर्दैन र गर्न पनि दिँदैन ।’ मन्त्री पण्डितको भनाई थियो । ‘सरकार यस मामलामा कुनै लचकता पनि अपनाउँदैन ।’

सरकारले तोकेको ठाउँमा  डाक्टहरुले जानुको विकल्प नभएको पनि मन्त्री पण्डितले बताउनुभयो । खटाएका ठाउँमा नजाने डाक्टरलाई सरकारले कारबाही सुरु गरेको मन्त्री पण्डितले जानकारी दिनुभयो । ‘कार्यक्षेत्र नजाने डाक्टरलाई हिजैबाट कारबाही सुरु गरेका छौं । सेवा प्रवाह रोकिराखे सरकारले दया र माया गरिराख्नु पर्ने आवश्यक हुँदैन । दण्डित गर्नेबाहेक विकल्प छैन ।’

हामीलाई संघमा मात्र राखियोस् र काजमा खटाइयोस् भन्ने डाक्टरहरुको माग स्वीकार्य नहुने उहाँको भनाई थियो ।
समायोजनमा तीनै तहमा जाने डाक्टरको सुविधा, बढुवा, वृत्तिविकास, अवसरमा कुनै विभेद नभएको मन्त्री पण्डितले बताए । ‘सबै सुविधा दिएका छौं तर पनि रडाको मच्चाउने काम भएको छ । जनतालाई दुःख दिएर सरकारलाई घुँडा टेकाउने काम गर्छौं भन्ने सोच्नु भएको छ भने नाजायज मागसँग सरकारले वार्ता गर्दैन ।’ मन्त्री पण्डितको भनाई थियो ।