सुडानमा सेनाद्वारा राष्ट्रपति बसिरलाई अपदस्थ गरी गिरफ्तार

Maitrinews

 

सुडान । सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई सत्ताच्युत गरेर गिरफ्तार गरिएको देशका रक्षामन्त्रीले जनाएका छन्।
सरकारी टेलिभिजनमा बोल्दै ती मन्त्री अवाद इब्न ओउफले भनेका छन् देशको सेनाले अब दुई बर्षे संक्रमणकालको जिम्मा लिनेछ र त्यसपछि निर्वाचन हुनेछ।
उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि जनाएका छन्।
गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए।
मन्त्री इब्नओउफले भने सत्ता परिवर्तन गरिएको छ र अल बशीरलाई सुरक्षित स्थानमा राखिने छ।
उनले भने सुडानको संविधानलाई निलम्बन गरिएको छ, थप सूचना नगरिएसम्मका लागि सीमानाकाहरू बन्द गरिएको छ र देशको हवाईक्षेत्र २४ घण्टाका लागि बन्द गरिनेछ।

ओमार अल बशीरका विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले एक अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ। उक्त अदालतले उनलाई सुडानको पश्चिमी डारफर क्षेत्रमा युद्ध अपराध गराएको र मानवताविरोधी अपराध गरेको आरोप लगाएको छ।