भक्तपुरमा मनाइने बिस्काः जात्रा

maitrinews

बिस्काः(विस्केट)जात्रा खाइ संल्हु अर्थात् वैशाख संक्रान्तिका दिन भक्तपुरमा मनाइने विशेष पर्व हो । यो जात्रामा भैलः अथौत् भैरवनाथको प्रतीक मानिने ल्योसिं तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ । नेपाल भाषामा ठने अर्थात माथि, क्वने अर्थात तल गरी अगाडि–पछाडि दुबै तिरबाट रथ तान्ने चलन छ । भक्तपुरको बिस्का जात्राको बिशेषता नै यही हो । आठ रात नौ दिनसम्म चल्ने बिस्का जात्राको रथ तःमार्हीबाट तानेर गहीटीमा राखे पछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

विस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ल्योसिं ठड्याइन्छ । पचपन्न हात लामो ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ । ल्योसिं ठड्याउनुअघि ल्योसिंको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर ल्योसिं ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिन्छ । ल्योसिंको टुप्पोमा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजा भन्ने गरिन्छ । भक्तपुरको प्रसिद्ध विस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू भनाई छ ।
नेवाः सभ्यतामा सौर्यचन्द्रमासको प्रचलन अनुसार विभिन्न संल्हुहरू मनाइने गरिन्छ । त्यसमध्ये खाइ संल्हु नेवाःसभ्यताको महत्वपूर्ण चाड हो । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, फूच्व डाँडाहरू चढ्ने र मेला भर्न जाने गरिन्छ । नेपालमा विक्रम संवत भित्रिनु अघिदेखि नै नेवारहरूले संल्हु अर्थात् संक्रान्ती र पुन्हि अर्थात् पूर्णिमा मनाउने गरेको पाँचौ शताब्दीका लिच्छविकालीन अभिलेखहरूमा उल्लेख गरिएको पाइन्छ ।
बिस्काः जात्रालाई विक्रम संवत्तसँग जोडेर यस संवत् अनुसारको नव वर्षको उपलक्ष्यमा गरिने जात्रा भनेर भ्रामिक प्रचार पनि गरेको पाइन्छ ।
ल्योसिं उभ्याइने र ढाल्ने नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको भनाई छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा भक्तपुरको प्रसिद्ध विस्केट जात्रा भव्यरूपमा मनाइन्छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुरमा मानिसको भीड लागने गर्दछ । बिहानै देखि ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइचो लाग्ने गर्छ । त्यस पश्चात इन्द्रायणी पूजा सम्पन्न गरी अपराहृन गुठी संस्थानबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजु चोकमा मूल पुजारीलाई तरबार बुझाउने प्रचलन छ । त्यसपछि पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोका अगाडि इन्द्रायणीको प्रसाद लिई साझ भेलुखेलमा गई ल्योसिंमा अन्तिम पूजा गरी ल्योसिं ढाल्ने परम्परा रहेको छ । सांस्कृतिक महत्व बोकेको विस्केट जात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने किम्बदन्ती रहेको छ ।