आजबाट शुरु भयो नयाँ वर्ष २०७६

maitrinews

काठमाडौं । आजदेखि नयाँ वर्ष २०७६ शुरु भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ ।
यस अवसरमा साहित्यिक कार्यक्रम, भेटघाट नाचगान, रमणीय स्थानको यात्रा तथा वनभोजको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ । साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस भन्ने कामना पनि गर्ने गरिन्छ । नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते, बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै, उपराष्ट्रपति नन्द बहादुर पुनले नयाँ वर्षले सकरात्मक सोच र उर्जा प्रदानको कामना समेत गर्नुभएको छ । शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले समेत समृद्ध नेपाललाई साकार पार्ने योजना पुनः दोहो¥याउँदै सरकारले उक्त नारा पुरा गर्न लागिपरेको उल्लेख गर्नुभएको छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकलाई सबै प्रकारको निकास दिन सहमति, सहकार्य र एकता आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।