अमेरिका नेपाल फ्रेन्डसिप सोसाइटीको शुभकामना सांस्कृतिक कार्यक्रम

Maitrinews

 

न्युयोर्क । ३६ वर्ष अगाडि नेपाल र अमेरिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्दै विदेशी भूमिका नेपाली कला संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले विदेशी नागरिकलाईसमेत सदस्यमा राखी स्थापना गरेको अमेरिका नेपाल फ्रेन्डसिप सोसाइटीले प्रत्येक वर्षझैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा सोसाइटीका बोर्ड सल्लाहकार डा. राजेन्द्र प्रधानले उपस्थित सबै पाहुनाहरुको स्वागत गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोसाइटीका सभापति एवं कार्यक्रमका सभापति रामराज क्षेत्रीले आफ्नो मन्तव्य व्यक्त गर्दै भन्नुभयो, आज यस कार्यक्रममा सम्मानित व्यक्तित्व, ब्यापारी, डाक्टर, इन्जिनियर , वकिल , पत्रकार, वरिष्ठ कलाकार एवं प्रतिष्ठित व्यक्तिहरु उपस्थित भई कार्यक्रमको शोभा बढाइ दिनुभएकोमा धन्यवाद छ । ३६ वर्षदेखि सोसाइटीले यसरी नै नेपाली कला संस्कृतिलाई अँगाल्दै कार्यक्रम गर्दै आएको छ । उहाँले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न नेपाली गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । वरिष्ठ गायिका संगीता मुखिया छोचू, गोमा योन्जन गुरुङ, न्हुच्छेनारायण डंगोल, अभय ढुंगेल, सानु शेर्पा , वसन्ती राई, पूजा न्यौपाने, सरिना रन्जित, जारारित प्रसाई, अरमानी महर्जन, सुवाङ्गी गिरीले सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो ।


त्यसैगरी नेवा गुठीका तर्फबाट प्रस्तुत कविना सिंह, सम्राट सिंह र स्टिभ सिंहको नृत्यलाई दर्शकले निकै मन पराएका थिए । नव गायिक सरिना श्रेष्ठ र नव गायक मेलेनियम श्रेष्ठको गीतलाई मन पराई दर्शकहरुले ताली बनाएर समर्थन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदूत अमृतबहादुर राई र अतिथिका रुपमा महावाणिज्यका कन्सुलर कृशु क्षेत्री सहभागी हुनुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राईले सबै कलाकारलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै वरिष्ठ वाद्यवादकद्वय न्हुच्छेनारायण डंगोल र शिशिर श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको थियो । राजदूत राईले बरिष्ठ पत्रकार बीके नेवालाई आउटस्ट्यान्डिङ कम्युनिटी सर्भिस अवार्डबाट सम्मान गर्नुभएको थियो ।


कार्यक्रमको प्रशंसा गर्दै प्रमुख अतिथि राजदूत राईले यसरी नेपालीहरुले आफ्नो मौलिक संस्कृतिलाई नविर्सी जीवन्त राखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोजकलाई धन्यवाद दिँदै उपस्थित सबैलाई नयाँ वर्ष २०७६ को शुभकामना दिनुभयो । कार्यक्रममा उपस्थित हुन पाएकोमा आफूलाई खुसी लागेको पनि उहाँले बताउनुभयो ।
न्युयोर्कको उडसाइडको गुलसन टेरेसमा भएको सो कार्यक्रमको सञ्चालन पत्रकार अकुर लुइटेलले गर्नुभएको थियो भने सोसाइटीका कोपिला देवकोटाले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।