राजदूत डा. शाक्यको पहलले मृतसागरमा सगरमाथाबारे राखिएको गलत सूचना हटाइयो

 

काठमाडौँ । इजरायलले विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको स्वीकार गरेको छ । यसअघि इजरायल र जोर्डनको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच(समुद्र तट) मा ‘वर्ल्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको सूचना राखिएको थियो ।
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको पहलमा यसअघि उल्लेख गरिएको सो गलत सूचना सच्याइएको हो । उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो । राजदूत शाक्यले होर्डिङ बोर्ड परिवर्तन गर्न सकेको जानकारी दिनुभयो । ‘निरन्तर प्रयासपछि गलत सूचना सच्याउन सफल भएका छौँ । यसका लागि म र मेरो देशका तर्फबाट इजरायली सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु’ राजदूत शाक्यले भन्नुभयो ।
उहाँका अनुसार फेरिएको होर्डिङ बोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झन्डा पनि नेपालको राखिएको छ ।
मृतसागर भ्रमणका लागि हरेका वर्ष ४० लाख पर्यटक आउने गरेको जानकारी दिँदै राजदूत शाक्यले थप्नुभयो, ‘ यहाँ वर्षौदेखि राखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा पर्छ भन्ने उल्लेख गरेको देखेँ जसले निकै नरमाइलो महसुस भयो । ’
उहाँले सम्बन्धित निकायका कर्मचारीलाई तुरुन्त सो होर्डिङ बोर्ड हटाउन आग्रह गर्नुभएको थियो । ‘निकै ठूलो प्रयासपछिमात्र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश नेपाल हो भनेर मृतसागर हेर्न आउने पर्यटकलाई चिनाउन सफल भएका छौँ । यसैैमा नेपाल र नेपालीको खुसी छ’ उहाँले भन्नुभयो ।


अब विश्वको सबैभन्दा होचो अर्थात् समुद्र सतहभन्दा ४२० मिटर तल रहेको मृतसागर (डेड सी) पुग्ने जो कोहीले अब सगरमाथा नेपालमै रहको सूचना देख्न पाउनेछन् ।
राजदूत शाक्यले कार्यभार सम्हालेदेखि आफूले प्रतिबद्धता व्यक्त गरेअनुसार धेरै प्रक्रिया अगाडि बढाएको बताउँदै भन्नुभयो,‘ नेपालका सातै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात् इजरायली उच्च प्रविधि तालिम केन्द्र खोल्ने प्रक्रिया अगाडि बढाइएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्नुहुने इजरायल भ्रमणका क्रममा दुई देशको आपसी हितलाई ध्यानमा राखेर धेरै विषयमा सम्झौता गर्ने तयारी पनि दूतावासले गरेको छ ।
राजदूत शाक्यका अनुसार इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यसमार्फत् कृषि, सूचना प्रविधि, कम्प्युटर, मेडिकल र शिक्षामा विभिन्न एड्भान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्ने लगायतका विषयमा पनि प्रक्रिया अगाडि बढेको छ ।
डाक्टर,नर्सिङ र आईटीका लागि मास्टर र पीएचडीको छात्रवृत्ति व्यवस्था गर्ने,कृषि र सूचना प्रविधि, कम्प्युटर र होटल व्यवस्थापनलगायतमा रोजगारीको अवसर सिर्जना गर्ने विषयमा समेत प्रक्रिया अगाडि बढाइएको जानकारी राजदूत शाक्यले दिनुभयो ।