पत्रकार पुष्करलाल श्रेष्ठको निधन

maitrinews

 

काठमाडौँ । नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । पत्रकार श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हो ।
उनको करिब साढे पाँच महिना अघि नाकमा समस्या भएपछि राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो।
स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उनलाई जिबिएस भाइरसको संक्रमण भएको आशंका गर्दै थप उपचारका लागि नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो।
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो।