मोफसलमा विप्लवको वितण्डा, ठाउँठाउँमा विष्फोट

maitrinews

 

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा बुधबार राति शक्तिशाली बम विस्फोट भएको छ । राति १ बजेर २५ मिनेट जाँदा रिब्दीकोट गाउँपालिका ४, खस्यौलीमा रहेको भवनको बाहिरपट्टी बम बिस्फोट भएको स्थानीय गणेशप्रसाद आचार्यले बताए ।
बम बिस्फोट हुँदा गाउँपालिकाको सेवाग्राहीका लागि निर्माण गरेको सेडको छाना, कार्यालयका झ्याल(ढोकाका सिसा, फोटोकपी, कम्प्युटरलगायतमा क्षति पुगेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। गाउँपालिका अध्यक्ष नारायण जीसीले गाउँपालिकाको सेवाग्राही प्रतिक्षालय, संगैको वडा नम्बर ३ कार्यालयमा बढी क्षति पुगेको बताए। कर्मचारी र प्रहरीले क्षतिको विवरण संकलन गरेको उनले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार आब्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा कम देखिन्छ । तर शैक्षिक संस्था ठप्प छन् । सडकमा सवारी साधन कम चलेका छन् ।

पार्टी नै प्रतिवन्धमा परेकाले कार्यकर्ताहरु कतै देखिँदैनन् । मोफसलमा भने बन्दलाई मलजल गर्ने गरी र त्रास बढाउने गरी विभिन्न ठाउँमा विप्लव समूहले शङ्कास्पद बस्तु राखेको छ । केही ठाउँमा विष्फोट पनि भएको छ भने केही ठाउँमा नेपाली सेनाले बम डिस्पोज गरेको छ ।

विप्लवको प्रभाव पश्चिमी क्षेत्रमा बढी देखिएको छ । चितवनमा सिलिन्डर बम डिस्पोज भएका छन् । त्यस्तै बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले बिहान डिस्पोज गरेको छ ।

शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

यता, पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा बिहीबार विहान नेपाली सेनाका अमलदार धर्म थापा घाईते भएका छन् ।

उनलाई घाइते भएपछि पोखरामा प्राथमिक उपचारपछि राजधानी ल्याइएको छ ।

आफ्ना कार्यकर्ता रिहाईको मागका लागि नेकपाले बन्द आब्हान गरेको हो । उसले प्रतिवन्ध फिर्ता लिन पनि माग गरेको छ ।