१२१ वर्षदेखि सजाय भोग्दै वरको रुख

maitrinews

 

पाकिस्तान । पाकिस्तानमा एउटा वरको रुखले १२१ वर्षदेखि कठोर सजाय भोगिरहेको छ । १२१ वर्षअघि गिरफ्तार गरिएको यो रुखले त्यस समयदेखि कठोर कैद सजाय भोग्दै आएको छ । खैबर पख्तुनख्वा प्रान्तस्थित लन्डी कोतलमा वरको रुख विश्वमै यसरी सजाय काट्ने एकमात्र रुख हो । यसलाई सजायस्वरुप लामा लामा सिक्रीले बाँधिएको छ । त्यसमा एउटा साइनबोर्ड पनि छ । जसमा लेखिएको छ, ‘आईएम अन्डर एरेस्ट’ । पाकिस्तानी पत्रिका डनका अनुसार घटना सन् १८९८ को हो । रक्सीको नशाले चूर भएका ब्रिटिस अधिकारी जेम्स स्क्वायड लन्डी कोटल सैनिक क्याम्पमा खटिएका थिए । उनलाई रक्सी यतिधेरै लागेको रहेछ कि उनले नजिकै रहेको वरको रुख आफूतर्फ आइरहेको देखे । उनी निकै नराम्रोसँग आत्तिए । उनले त्यहाँ रहेका सैनिक जवानहरुलाई तत्कालै चिच्याउँदै आदेश दिए, ‘त्यो रुखलाई गिरफ्तार गर ।’ बिचरा सैनिकहरुले आदेश पालना गर्नै पर्यो । फलामका सिक्री लिएर गए र वरको रुखको हाँगादेखि फेँदसम्मै सिक्रीले बाँधे ,ता कि त्यो रुखले कमान्डरलाई नलखटोस् । त्यसपछि त्यो वरको रुखमा बाँधिएको फलामे सिक्री फुकाल्ने आँट कसैले गरेन । १२१ वर्षपछि पनि त्यो रुख कैदमै छ । अङ्ग्रेज शासक कति क्रूर थिए भन्ने देखाउनका लागि अहिले त झन् त्यो रुखलाई कैदी अवस्थामै संरक्षित गरेर राखिएको छ । यो ठाउँ अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।