गौरिका सिंहः न लक्ष्यबारे चिन्ता न प्रतिद्वन्द्वीको डर

 

काठमाडौँ । गौरिका सिंहको मुहारमा प्रायः देखिने मुस्कानमा कुनै फरक देखिएको छैन। लक्ष्य पनि स्पष्ट छ, प्रदर्शन थप सुधारिएको छ।
आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले भाग लिएको पौडीको सबै १२ इभेन्ट्समा उनले स्वर्ण पदक जितिन्।

उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन्। पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन्।

नेपालगन्जको एउटा स्पर्धा जितेपछि उनले भनिन्, ूमेरो बुवाको घर बझाङ हो। त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ।
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्।

नेपाली पौडीका लागि उनी अझ विशेष छिन्। दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन्।

त्यो अवसर यसै वर्ष काठमाण्डूमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ। यही उद्देश्यको पहिलो पाइला बढाउन उनी नेपालगन्ज आएकी हुन्।

ूमेरो अबको लक्ष्य दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने हो। त्यसमा केन्द्रित भएर प्रशिक्षण गरिरहेकी छु,ू उनले भनिन्।

दुई वर्षअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई दुई सय मिटर इन्डिभिजुअल मिडलेमा रजत पदक जितेकी थिइन्।

र, केही सेकेण्डले उनी स्वर्ण जित्नबाट चुकेकी थिइन्। त्यो दूरी मेटाउने उनको अबको धोको हो।