अरु देशको अर्थतन्त्र बिगारेर आफ्नोमात्रै सपार्दैनौं : चिनियाँ राष्ट्रपति

maitrinews

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहयोगमा हुने भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन् । सो सम्बन्धी दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई केहीबेर अघि बेइजिङमा सम्बोधन गर्दे सीले सो कुरा बताएका हुन् ।

उनले बीआरआईमा सामेल धेरै राष्ट्रसँग उच्च गुणस्तरको स्वतन्त्र व्यापार सम्झौता गर्ने समेत बताएका छन् । उनले पूर्वाधारहरु उच्च गुणस्तरको र दीगो बनाइने उल्लेख गर्दै निर्माणको मूल्य सहुलियतपूर्ण हुने र समावेशी तथा पहुँचयुक्त समेत हुने जनाएका छन् । उच्च गुणस्तरको विकासका लागि सबै सहभागीलाई उनले सो अवसरमा आह्वान गरेका छन् ।

सम्मेलनमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल समेत सामेल रहेको छ ।

चीनले बीआरआईमा सामेल भएका देशका कूल ५ हजार मानिसलाई तालिम, संयुक्त अनुसन्धानलगायतका लागि आगामी ५ वर्षमा सहयोग गर्ने समेत राष्ट्रपति सीले बताएका छन् । यसैगरी, बीआरआईमा सामेल राष्ट्रका राजनीतिक पार्टीका नेता, थिंक ट्यांक, गैरसरकारी संस्थाका पदाधिकारीसमेत १० हजार जनालाई आगामी ५ वर्षमा चीन बोलाइने समेत जनाएका छन् ।

उनले चीनले पूर्ण स्वामित्वसहित लगानी र व्यापार गर्नका लागि विदेशीलाई अनुमति दिने समेत बताएका छन् । विदेशी लगानीकर्ताको अधिकार संरक्षणका लागि चीन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले बौद्धिक सम्पतिमाथिको अधिकारमा चीन प्रतिबद्ध रहेको र प्रविधि हस्तान्तरणको लागि दबाब निषेध गरिने समेत जनाएका छन् ।

राष्ट्रपतिले करका दरपनि चीनले कम गर्दै लैजाने बताउँदै सामानको आयातलाई बढाउने जनाएका छन् । चीनले धेरैभन्दा धेरै ‘फार्म’ सम्बन्धी उत्पादनको आयात बढाउने बताउँदै उनले त्यसमा तयारी अवस्थामा रहेको उत्पादन र सेवा हुने समेत जनाएका छन् ।

उनले चीन अन्य देशको अर्थतन्त्र बिगारेर आफ्नो मात्रै सपार्ने नीतिको पक्षमा नरहेको समेत बताएका छन् । उनले सबै देशलाई लगानीका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्दै चिनियाँ इन्टरप्राइजेज, विद्यार्थी र विद्वानहरुलाई समान व्यवहार गर्न आग्रह गरेका छन् ।