बीआरआईमा नेपालको प्रस्ताव पारित

maitrinews

 

बेइजिङ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।
बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मलेनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मलेनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।

शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।

‘एनेक्स’को २३ औं बुँदामा भनिएको छ( ‘नेपाल चीन ट्रान्स(हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’

चीनको बीआरआई परियोजनामा नेपालले यसअघि नै सैद्धान्तिक सहमति जनाइसकेको भए पनि यो परियोजनाभित्र नेपाललाई कसरी समेटिने छ भन्ने स्पष्ट भएको थिएन । तर, शनिबार सम्पन्न गोलमेच बैठकले अब नेपाल चीन कनेक्टिभिटीलाई औपचारिकरुपमै बीआरआईमा समेटेको छ ।

बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ । त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।

ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ ।

सम्मेलनलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन एवं उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको भण्डारीेले बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा चिनियाँ पक्षले नेपालको जलवायु परिवर्तनको क्षेत्रमा चासो देखाएको राष्ट्रपति भण्डारीलाई उधृत गर्दै नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।
चीनसँगको सम्बन्ध राजनीति र अर्थतन्त्रमा पनि विस्तार भयोः परराष्ट्रमन्त्री

यसैवीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनवीच हजारौं वर्षदेखि रहँदै आएको सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका छन् ।

बेइजिङस्थित नेपाली दूताबासले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताउनुभयो ।