जापानको नयाँ सम्राटमा नारुहितो, नयाँ युग आरम्भ

maitrinews

 

टोकियो । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्।
उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।
तर राज्यारोहणको औपचारिक र परम्परागत विधि बुधवार बिहान सम्पन्न भयो।
सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो विधिमा उनलाई जापानको शाही खजाना हस्तान्तरण गरिएको थियो। सम्राट बनेपछि नारुहितोले तरबार, जुहारात तथा ऐना पाएका छन्।
नारुहितो नयाँ सम्राट बनेपछि रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।
जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ।