धर्म के हो ?

maitrinews

धर्म सत्य हो, रीत हो, विश्वविधान हो, प्रकृतिको कानून पनि हो । सजिव, निर्जिव सवैमा धर्म आधारित छन । अणु, पिण्ड, प्रमाण्ड सवैलाई धर्मले नै धारण गरेको छ र यी सवैले धर्मलाई धारण गरेको छ । धर्म असिम, अनन्त, अपरिमित छ । घट घटमा निहित छ । अणु अणुमा समावेश छ । सर्वव्यापी, सर्व शक्तिमान, सर्वेश्वर छ ।
धर्मले सहि अर्थमा अशरणहरुलाई शरण दिन्छ । जीवनमा जव संकट आउँछ, आँधि, तुफान आउँछन्, असहाय हुन्छ, तव धर्मको शरण नै सहि शरण सावित हुन्छ । धर्मकोे शरणमा सुख शान्ति प्राप्त हुन्छ । जव जीवनमा असिम जलधाराले भयंकर रौरभ रुप धारण गर्दछ, शान्त समुद्रमा ज्वालामुखी आउन थाल्दछ, त्यतिवेला मानिसको सवै सम्वन्ध विच्छेद हुन्छन् । सवै मित्रले आँखा चिम्लिदिन्छन् । जन्म जन्मका साथीहरुले साथ दिन छोड््दछन् । बन्धुवान्धवहरु आआफ्नो प्राण बचाउँमा लाग्दछन् । त्यतिवेला आफ्नोपन सवै हावामा उड्छ । जीवनाको यस्तो प्रतिकुल समयमा हाम्रो सहारा मात्र धर्म हुन्छ । धर्मले डुंगाको काम गर्छ र हामीलाई सुरक्षित किनारामा पुर्याउँछ ।
धर्मले कहिले पनि धोका दिँदैन, विश्वासघात गर्दैन र कहिल्यै अधोगति तिर धकेल्दैन । त्यसैले केही मात्रामा भएपति धर्ममा समर्पित हुन हामीले सिक्नुपर्छ । सुख, दुख, आपद्, विपद् जीवनमा आए पनि धमले हामीलाई रक्षा गर्छ । धर्मको शरणमा हामीलाई सच्चा सुख प्राप्ति हुन्छ । तर अमूर्त धर्ममा जानु सरल भने पक्कै छैन ।
भविष्यको चिन्ता गर्नु मानव स्वभाव नै हो । आउने क्षण सुखद् होस् भनी मानिसले अनेक प्रकारका शरण लिन्छन् । अश्रय खोज्छन् तर धर्मको अतिरिक्त सहि शरण अरु कुनै छैन जसले हामीलाई भविष्यका लागि निर्भयी बनाईदिन्छ । त्यसकारण धर्म शरण नै एक मात्र शरण हो । धर्म त्यो हो जुन हामी भित्र प्रष्फुरित हुन्छ । आत्म प्रनिधनाको अभ्यास नै सहि धर्म हो । कुनै पिन बाह्य शक्तिले हामीलाई मात्र परावलम्वी बनाउँछ । आत्म शरण नै धर्म शरण हो । प्रत्येक घडिमा हामीले आफूभित्रको धर्मलाई जगाउनु पर्छ । हरेक प्रतिकुल अवस्थामा धर्म नै हाम्रो सहायक बन्न सक्छ । बुद्ध भन्नुहुन्छ, धर्म अर्थात् राम्रो बाटोमा लागेको चित्तले हामीलाई जति उपकार गर्छ, त्यति उपकार आफ्ना आमाबुबा तथा नाता कुटुम्बले समेत गर्न सक्दैन ।