प्रदेश नम्बर एकको स्थायी राजधानी विराटनगर सर्वसम्मतले पारित

Mohan Bastola

विराटनगर । प्रदेश १ को स्थायी राजधानीबारेको विवाद टुंगिएको छ । प्रदेशसभाको बैठकले प्रदेश नम्बर एकको स्थायी राजधानी बिराटनगर नै तोकेपछि विवाद टुंगिएको हो । केहीले राजधानी इटहरी त केहीले धनकुटा हुनुपर्ने माग गर्दै आएका थिए । प्रदेशसभा बैठकले मोरङको औद्योगिक नगरी विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पास गरेको हो । यद्यपि नामको भने अझै टुंगो लागेको छैन ।
९३ सदस्यीय प्रदेशसभामा ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए तर ६ जना भने अनुपस्थित रहेका थिए । विपक्षमा भने कुनै मत परेन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मत रुपमा प्रदेश नम्बर एकको स्थायी राजधानी विराटनगर बनेको हो । सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले प्रस्ताव फिर्ता लिएका थिए ।
प्रदेश नं १ को स्थायी राजधानी विराटनगर भएपनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ । यस अघि नै सात प्रदेश मध्ये कर्णाली, गण्डकी, सुदुरपश्चिम प्रदेशले प्रदेशको नाम र राजधानी तोकिसकेका छन् । अब प्रदेश दुई, तीन र पाँचले मात्र नाम र राजधानी तोक्न बाँकी छ ।