गोरखापत्रमा तत्काल सुधार गर्नुपर्ने : सञ्चारमन्त्री बास्कोटा

maitrinews

 

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गोरखापत्र संस्थानमा सुधारको आवश्यकता भएको औल्याउनुभएको छ ।

प्रतिस्पर्धात्मक युगमा प्रवेश गरिसक्दा पनि गोरखापत्र संस्थान पुरानै ढर्रामा अगाडि बढेको प्रति मन्त्री बास्कोटाले असन्तुष्टि व्यक्त गर्नुभएको हो । गोरखापत्र संस्थानको ११९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गर्ने योजना बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प समेत खोजिनुुपर्ने बताउनुभयो । उहाले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था समेत आउनेतर्फ पनि सचेत हुन आग्रह गर्नुभयो।
मन्त्री बास्कोटाले गोरखापत्रलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । गोरखापत्र संस्थान चुनौतीको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने बताउनुभयो।