केही दिन भित्रै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउने प्रचण्डको यस्तो दाबी

Mohan Bastola

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको सम्पूर्ण एकता प्रक्रियालाई केहि दिनभित्र टुङ्गोमा पुर्याउनु पर्ने बताउनु भएको छ । नेकपाको मुख्यालय धुम्बाराहीमा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सभासद् सिमा विश्वकर्मलाई पार्टी प्रवेश गराउने कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले जनताको लोकप्रिय मत ल्याएर दुई तिहाई नजिकको सरकारको नेतृत्व गरीरहेको कुरा कतिपयलाई मन नपरेको भन्दै सरकार सकारात्मक कामसहित अगाडी बढेको दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको भन्दै अब जनतालाई उत्साह र भरोसा दिने खालको बजेट ल्याउने विश्वास दिलाउनुभयो ।नेतृत्वमा रहेकाहरु विभिन्न खाले अनुभव, टुटफुट र विभाजनका श्रृखला ब्यहोर्दै आएको भन्दै अब ती अनुभवबाट पाठ सिक्दै राष्ट्र र जनताको चाहनालाई शिखरमा पुर्याइ छोड्ने दाबी पनि उहाँले गर्नुभयो । अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नीति विचार र सिद्धान्तलाई मन पराएर पार्टी प्रवेश गरेकोमा विश्वकर्मलाई धन्यवाद पनि दिनुभयो ।

विश्वकर्मको पार्टी प्रवेश नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने आधारको एक श्रृखला भएको पनि उहाँले बताउनुभयो । उहाँले गत जेठ ३ गते नेपालका सबै कम्युनिष्टलाई एकीकृत गराउने विषयको आधार तयार गरेको पनि स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा साना–ठूला कम्युनिष्ट समूह यहि केन्द्रमा जोडिने दाबी पनि गर्नुभयो । उहाँले अहिले पनि स–साना कम्युनिष्ट पार्टीहरु र विभिन्न समूहहरुलाई एउटै केन्द्रमा एकीकृत गर्ने विषयमा हिमालदेखि पहाडसम्म, पहाडदेखि तराईसम्म छलफल चलिरहेको भन्दै त्यसले एउटा उर्जा र सन्देश दिने दाबी पनि गर्नुभयो ।

संविधानसभाको निर्वाचनमा जनमुक्ति पार्टीबाट सभासद् बन्नु भएकी विक पछिल्लो समय डा वावुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य हुनुुहुन्थ्यो । भट्टराईले नेतृत्व गरेको पार्टी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरममा विलय भएपछि विक नेकपामा प्रवेश गर्नुभएको हो । उहाँलाई वावुराम भट्टराई उता समाहित हुँदै गर्दा तपाई चाहिँ किन यता प्रवेश गर्नुभयो भनि प्रश्न गरेका थियौँ ।