मनको शत्रु मार

maitrinews

मारको अर्थ शत्रु हो । जीवनमा आइपर्ने बाधा, व्यवधान हो । जसले राम्रो कामको बाटोमा रुकावट खडा गरिदिन्छ । त्यसैले यसलाई राक्षसको संज्ञा दिइएको छ । यो आफ्नै आत्मग्राहको उपज हो । जुन आफूभित्रको अज्ञानताका कारण उत्पन्न हुन्छ । जवसम्म हाम्रो मनमा क्लेशरुपी फोहर रहन्छ, तबसम्म शत्रु पनि आफैले आफैभित्र बोकिरहन्छ । साथै जबसम्म राग, द्वेष, मोह, माया र बन्धनले हामीलाई बाँधिरहन्छ तबसम्म मारले हामिलाई सताईरहन्छ ।
जबसम्म जन्म मरणको बन्धनबाट मुक्त हुँदैन तबसम्म मारको बशमा परिरहन्छ । म र मेरो भन्ने भाव रहेसम्म हामी माररुपी जन्जालमा फसिरहेका हुन्छौं । जव हामी एकाग्र चित्त गरी कुशल कर्म तथा धार्मिक सद्कर्म गर्छौं तब मनमा अनेक कामराग, ईच्छा, तृष्णा आदिले मनलाई विचलित बनाई कुशलकर्म गर्न नदिई अकुशलकर्म तर्फ मोड्ने काम मारले गरिरहन्छ ।
आफ्नै मनमा उब्जिने राग, द्वेश, मोह, लोभ, घमण्ड, इष्र्या यी सवै एक प्रकारको मार नै हो । जसले चित्तलाई मैलो, फोहोर बनाउछ । हामीले शरिर र वचनबाट गर्ने कर्म अकुशल बनाउँछ । फलस्वरूप हामी हत्या हिंसा, व्यविचार जस्ता अकुशल कार्य गर्न पुग्छौं । र, यसले जिवनमा दुख निम्त्याउँछ । जसले जन्म जन्मान्तरसम्म दुखले पछ्याइरहन्छ । र हामीलाई अधोगतितर्फ धकेलिरहन्छ ।