सुजाताको खिर दान र बुद्धत्व प्राप्तिको एक प्रशंग

maitrinews

उरुवेला प्रदेशका सेनानी नामक धनी व्यक्तिका छोरी सुजातालाई विशाल वटवृक्षको देवताप्रति निकै श्रद्धा थियो । त्यही देवताको कृपाका कारण वाराणसीको श्रेष्ठीको परिवारमा उनको विवाह भएको हो भन्ने विश्वास उनलाई थियो । र, उनै देवताको कृपाले २० वर्ष पहिले यश नामका छोरा प्राप्त भएको भन्ने विश्वासका कारण प्रत्येक पूर्णिमाका दिन माइती आएर आफ्नो इष्ट देवता वटवृक्षको पूजा, आराधना गर्दथिन् ।
उनले यसपटक पनि आफ्नो आराध्य देवका लागि अत्यन्त स्वादिष्ट खिर बनाइन र आफ्ना दासीलाई वृक्ष सफा गर्न पठाइन् । त्यहाँ पुग्दा दासीले एक तपश्वी ध्यान मग्न भई रुखमुनि बसिरहेको देखिन् । तपश्वीको मुखमण्डल चम्किलो हुनुका साथै व्यक्तित्व आकर्षक थियो । त्यो दृष्य देखेर उलने आज स्वयम् वृक्ष देवता खिर ग्रहण गर्न प्रकट भएको विचार गरिन् र खुसी हुदै सूचना दिन दौडिदै घर गइन् । उनको कुरा सुनेर सुजाता पनि खुसी भइन् । सुनको पात्रमा खिर पस्किेर आफ्नो उपास्य देवलाई चढाउन गइन् । सुजाता बुद्धिमति थिइन्, उनले देख्ने वित्तिकै थाहा पाइन् कि उनी कुनै देवता नभएर कुनै उच्चकूलबाट गृहत्याग गरेका तपश्वी हुन् । उनलाई खिर चढाउन पाएर सुजाता निकै खुसी भइन् । उनलाई देखेर सुजाताको मनमा वात्सल्य भाव जाग्यो । सुजातनले खिर अर्पण गर्दै तपश्वीलाई उनको तपश्या सफल होस् भनी कामना पनि गरिन् ।
बोधिसत्व सिद्धार्थको यो अन्तिम भोजन थियो । उनको आउने रातमा बुद्धत्व प्राप्त हुने थियो, त्यसैले पनि त्यो भोजनदान अत्यन्त पुण्यशाली मानिन्छ । बोधिसत्व सिद्धार्थले भोजन पश्चात निरञ्जना नदीको छेउमा रहेको शालवृक्षमुनि केही समय विश्राम गरे । सुर्यास्त हुनु अघि पीपलको रुखमुनी गएर ध्यान गर्न बसे । उनले बालक छँदा कपिलवस्तुको खेत नजिकै जामुनको रुखमुनि बसेर श्वासप्रश्वासको ध्यान अभ्यास गरेको सम्झ्mे । सहज, स्वाभाविक स्वासको आवागमनलाई हेरेर शरिरमा हुने संवेदनाको उदय व्यय स्वभावलाई हेर्दै भावनाकमी प्रज्ञाका साथ सजग र सतत हुने अभ्यास गर्दै रहे । त्यसपछि उनले दृध निश्चय गरे कि जवसम्म सम्यक सम्बोधी प्राप्त हुँदैन, तबसम्म यो आशनबाट उठ्दिन । चाँहे मेरो शरिरको मासु, रगत सुकेर नै किन नजाउँन, तर म विचलित हुँदिन । त्यतिवेला मारले उनलाई विथोल्ने धेरै प्रयत्न गरे, तर सिद्धार्थ कत्ति पनि विचलित भएनन् । अन्ततः त्यही रात उनले सम्पूर्ण अन्धकारलाई नष्ट गर्दै बुद्धत्व प्राप्त गरे । सिद्धार्थबाट बुद्ध बने ।