जनवर्गीय संगठनको एकता जेठ तीन मै टुङ्ग्याउने अध्यक्ष प्रचण्डको दाबी

Mohan Bastola

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकतालाई केही दिन भित्रै टुङ्ग्याउने दाबी गर्नुभएको छ । युवा संघ नेपालले २६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

पार्टी एकताको दिन पारेर एकताको बाँकी काम सकाउने गृहकार्यमा पार्टी लागेको पनि उहाँले दाबी गर्नुभयो । ‘अब एकता टुंगिसक्यो, हल्ला भएको दिन एकता घोषणा हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर एक दुई दिनमै सबै एकता टुंगिसक्छ,’ प्रचण्डले भन्नुभयो ।

गत बर्ष जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र सवै तहको एकीकरण सकाउने घोषणा भएपनि नेताहरुबीचको बिवादले एक बर्षसम्म सवै तहको टुंगो लाग्न सकेको छैन । एकतामा ढिलाई हुँदा जनसंगठनहरु आक्रोशित बन्न थालेपछि अध्यक्ष प्रचण्डले एकता लगभग टुंगिसकेको बताउनु भयो । ‘लगभग एकता टुंगिसकेको छ,’ प्रचण्डले भन्नुभयो, ‘जिल्लाको एकता टुंगिएकै दिन पार्टी एकता टुंगिसकेको छ, घोषणा मात्रै बाँकी हो ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले युवा र नेताहरुको साथ पाएमा आफूले नयाँ–नयाँ काम गर्न चाहेको रहस्य पनि खोल्नुभयो । ‘नयाँ–नयाँ काम गरेर मर्न मन छ,’ कार्यक्रममा प्रचण्डको भनाई थियो । प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह पनि गर्नुभयो । मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै प्रचण्डले आफू समय अनुसार चल्ने नेता भएको ठोकुवा गर्नुभयो ।

‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ । केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ,’ प्रचण्डले भन्नुभयो, ‘यो पटक पनि चुनावअघिनै केपी कमरेडलाई तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’