लुम्बिनी भ्रमण वर्ष शुभारम्भ जेठ ४ मा, राष्ट्रपति र प्रधानमन्त्री बुटवल जाँदै

Mohan Bastola

काठमाडौँ । बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।

यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्‍याउने उद्देश्यले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने घोषणा गरेको हो ।

भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथनलगायतका कार्यक्रम गरिनेछ ।

आन्तरिक पर्यटनमा केन्द्रित भएर यसपटकको बुद्धजयन्ती मनाउने तयारी गरिएकाले प्रचार प्रसार र सबै तयारीको काम पूरा भएको विकास कोषको भनाई छ । बुद्धजयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न देशका बौद्धमार्गी, भिक्षु भिक्षुणी, संस्कृतिविद्लगायत लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओलीेले शुत्रबार दिउँसो बुद्धले २९ वर्ष बिताएको स्थान कपिलवस्तुको तिलौराकोट तथा अन्य बुद्धस्थलको अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले लुम्बिनी फर्केर साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको दिन शनिबार बिहान बुद्ध पूजा र शान्ति र्‍यालीमा सहभागी हुने र थाई विहारमा भिक्षुलाई सङ्घ दान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले सोही दिन लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धजयन्ती २५ सय ६३औँ वर्ष पुगेको र उहाँको जन्म त्यसभन्दा ८० वर्षअघि भएकाले बुद्ध जन्मिएको दुई हजार ६४३ वर्ष पुगेको उपलक्ष्यमा सोही सङ्ख्यामा फलफूलका बिरुवा रोप्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार यो कार्यक्रम तय गरिएको हो ।

त्यसलगत्तै बिहान ११ बजे बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भ समारोह शुरु हुनेछ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफनो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुटकारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो ।

वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो ।