प्रहरीको खोजीमा रहेका बम्जन सिन्धुलीमा

maitrinews

 

सिन्धुली । प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका ८, पैरेस्थित आश्रममा सार्वजनिक भएका छन् । आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए ।
विभिन्न व्यक्तिको उजुरीपछि चार महिनाअघि प्रहरीले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा खानतलासी गर्नुका साथै पैरेमा समेत सोधपुछ गरेको थियो । त्यतिखेर प्रहरीले बम्जनलाई भेट्टाएन । प्रहरीको छानबिन पनि त्यसै सेलाएको छ ।
केही नबोल्ने बम्जनले शुक्रबार दिनभर टाउकोमा हात राखेर अनुयायीलाई आशीर्वाद दिएको आयोजक बोधीश्रवण धर्म संघले जनाएको छ । संघका अनुसार १४ औं विश्वशान्ति मैत्रीपूजाका अवसरमा ७७ जिल्लाबाटै आएका अनुयायीलाई तपस्वी बम्जनले दर्शन दिने कार्यक्रम छ ।

आश्रममा तपस्वी बम्जनकै अनुयायीले कडा निगरानी गर्नुका साथै सुरक्षासमेत दिएका छन् । गेटमा नाम लेखाएर मात्र प्रवेश दिइएको छ । छालाबाट निर्मित वस्तु र धातुबाट बनेका सरसामान लगाएर जानेलाई छिर्न दिइएको छैन । फोटो खिच्न रोक लगाइएको छ । विदेशीसमेत दर्शनका लागि लाम बसेकाछन् ।

५ हजार बढी अनुयायीको नाम गेटमा इन्ट्री भएको बोधीश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिए । करिब ४२ बिघा जमिनमा बम्जनको आश्रम छ । त्यसमध्ये २४ बिघा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा हो । बम्जनको आवास भने चाइनिज शैलीको आलिसान भवनमा छ ।