अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक शुरुवात

maitrinews

 

काठमाडौँ । डिजिटल पूर्वाधार सम्वृद्धिको आधार, हाम्रो प्रयास सुचना प्रविधिको विस्तारु भन्ने नाराका साथ अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात आजदेखि शुरु हुँदैछ ।

सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो ।

डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे यसको सुरुवात गर्दै हुनुहुन्छ ।

त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आजबाट नै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने टेलिकमले जनाएको छ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ ।

यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पुग्ने टेलिकमले जनाएको छ ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।