विपश्यनाः शान्तपुर्वक जीवन जिउने कला

maitrinews

विपश्यना ध्यान बुद्धले दर्शाउनु भएको एक चित्त विशोधन गर्ने विधि हो । जुन मिथ्या आडम्वर मुक्त पूर्ण रुपमा वैज्ञानिक छ । विपश्यनाको अर्थ विशेष रुपले हेर्नु हो । आफूलाई स्वयम् निरिक्षण गर्नु हो । श्वासप्रश्वासमा चित्त एकाग्र गरी, अन्तरमुखी भई शरिरका साथै चित्तको यथाभूत स्वभाव र क्रियाको निरिक्षण गर्नु हो । स्वअनुभूतिको आधारमा त्यसको अनित्य र दुखमय निसार स्वभावलाई बुझ्नु नै विपश्यना हो ।
विपश्यना विधिले गहिरो आशक्तिबाट अलग भई मुक्त जीवन जिउने कला सिकाउँछ । शील सदाचारी जीवन जिउनुका साथै चित्तको एकाग्रताबाट मानव मनको शुसुप्त शक्ति जागृत गरी आ आफ्नो कार्यक्षेत्रमा निपुण बनाउनु , प्रज्ञाको अभ्यासबाट राग, द्धेष, काम, क्रोध, भय आशंका आदि अकुशलहरु निर्मल गरी चित्तलाई विशुद्ध गर्नु यसको प्रमुख उद्धेश्य हो । यसले मैत्री, करुणा, मुद्धिता र उपेक्षारुपी सद्गुणहरुको विकास गर्नु मद्धत गर्दछ । जसबाट मानव मानवबीच पारस्पारिक स्नेह, सहानुभूति , सहयोग , सहिष्णुता र स्वार्थविहिन सदुगुणको विकास गर्न सिकाउँछ । यहि नै विपश्यनाको सर्वहितकारी लक्ष्य हो । विपश्यनाको प्रशिक्षण धर्ममा दिक्षित गर्नका लागि हो । यहाँ धर्मको अर्थ सार्वजनिन, सर्वहितकारी , सार्वकालिक, सनातन, मानव धर्म हो ।
विपश्यना विधिलाई सवैले सहजै अपनाउन सक्छन् । सवैका लागि यो समान रुपमा कल्याणकारी छ । सुख र शान्ति जीवनमा सवैलाई चाहिन्छ तर विडम्बना सारा संसारमा अशान्ति छाएको छ । शान्तिपूर्वक जीउनमा लागि हामीले जीउने कला सिक्नुपर्दछ । सत्य धर्म नै जीवन जिउने कला हो । शुद्ध धर्मले हामीलाई सही अर्थमा जीउन सिकाउँछ । यसको लागि सर्वप्रथम हामीले अशान्ति किन छाएको छ, यसको कारण बुझ्नु जरुरी छ । जव मन विकारले भरिएको हुन्छ , तव मन अशान्त हुन्छ र हामी आफ्नो सन्तुलन गुमाउँछौं । हामीमा रिस, इष्र्या, भय नआउने औषधी के छ ? र आइ नै हाले पनि यसबाट अशान्त नहुने कुनै उपाए छ कि ? आखिरमा यी विभिन्न मनोविकारहर किन आउँछन् ? कसरी उत्पन्न हुन्छन् ? धेरैजसो त कुनै अप्रिय घटनाको प्रतिक्रिमा स्वरुप मनोविकार उत्पन्न हुने गर्छन् । जीवनमा प्रतिकुल परिस्थिति उत्पन्न नहुनु सम्भव छैन् । जीवनमा प्रिय, अप्रिय दुवै परिस्थितिहरु आईनैरहन्छन् । प्रयत्न हामीले त्यही गर्नु पर्दछ कि प्रतिकुल परिस्थिति उत्पन्न भएपनि हामीले मनलाई शान्त राख्न सकौं । बाटोमा काँडा , कंकडहरु रहिनै रहन्छन । उपाय यही हुन सक्छ कि हामी जुत्ता लयाएर हिडौं । तीब्र वर्षा, घाम आउँछ, बच्ने उपाए उही हो कि हामी छाता ओडेर हिडौं । अर्थात् प्रतिकुल परिस्थितिमा पनि हामी आफ्नो सुरक्षा आफै गर्न सिकौं । जसको अन्तर मन शुद्ध हुन्छ उसलाई बाहिरी विकारहरुले कुनै नराम्रो प्रभाव पार्न सम्दैन । कुनै पनि वस्तुस्थितिलाई यथाभूत रुपमा निरिक्षण गरी विकारमुक्त हुन सक्नु नै विपश्यना हो ।