स्थानीय तहबाट १५ हजार कर्मचारी माग, विज्ञापन खुलाउँदै लोकसेवा आयोग

 

काठमाडौँ । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो । मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।

त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको पदपूर्ति दुई चरणमा हुने कार्यतालिका छ । पहिलो चरणको परीक्षा साउनमा लिएर सोही महिना नतिजा सार्वजनिक गर्नेछ । दोस्रो चरणको परीक्षा भने भदौ–असोजमा लिई असोज–कात्तिकमा नतिजा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा हुनेछ । छैटौँ तहकै प्राविधिक पदको परीक्षा पनि दुई चरणमा गर्ने कार्यतालिका छ । पहिलो चरणको परीक्षा र नतिजा साउनमै हुनेछ भने दोस्रो चरणको परीक्षा भदौ–असोजमा भएर नतिजा कात्तिकमा प्रकाशित हुनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस कात्तिक–मंसिरमा गर्ने लोकसेवाको तयारी छ ।
पाँचौँ तहको अप्राविधिक पदमा पहिलो चरणको परीक्षा र नतिजा साउनमा हुनेछ । दोस्रो चरणको परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । दुवैको अन्तर्वार्ता र सिफारिस भने असोज–कात्तिकमा आउनेछ । पाँचौँ तहका प्राविधिक पदको पदपूर्ति खुलाबाटै हुनेछ । यसको परीक्षा साउन–भदौमा भई भदौमा नतिजा आउने तथा अन्तर्वार्ता र सिफारिस भदौ–असोजमा हुनेछ ।

चौथो तहका अप्राविधिक पदको पदपूर्ति खुलाबाट दुई चरणमा हुनेछ । पहिलो चरणको परीक्षा साउनमा गरेर साउनमै नतिजा प्रकाशित गर्ने लोकसेवाको तयारी छ । दोस्रो चरणको भने परीक्षा भदौ–असोजमा भई नतिजा असोज–कात्तिकमा आउनेछ । यस तहको अन्तर्वार्ता र सिफारिस असोज–कात्तिकमै गर्ने लोकसेवाले जनाएको छ ।

त्यस्तै, चौथो तहका प्राविधिक पदको पदपूर्ति पनि खुलाबाटै हुनेछ । परीक्षा साउन–भदौमा लिएर नतिजा भदौमा आउनेछ । अन्तर्वार्ता र सिफारिस भदौ–असोजमै गर्ने कार्यतालिका लोकसेवाको छ । महिला विकासतर्फका पदको हकमा विज्ञापनमा उल्लेख भएअनुसार हुने लोकसेवाले जनाएको छ ।