नवनिर्माणको अभियानमा जुट्न सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

Mohan Bastola

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई सकिएर अब मुलुक नवनिर्माण र आर्थिक प्रगतिको बाटोमा अघि बढेको बताउनुभएको छ । १२ आँै गणतन्त्र दिवसको अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको संयुक्त आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा सिंहदरबारस्थित रेडियो नेपालको प्राङ्गणमा आयोजित जागरण गीत सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले गणतन्त्र कसैले दिएको उपहार नभई जनताको रगत, पसिना, आशु र राष्ट्रको स्वाधिनतासँग गाँसिएको बताउनुभयो ।

गणतन्त्रप्राप्तिको र निरंकुश राजतन्त्रको अन्त्यका लागि न्यायको आवाज बुलन्द गरिरहेका बेला छातितर्फ बन्दुक तेर्साइरहेको र केही सडकमा ढलिरहेको अनि केही घाइते भएको घटनाको स्मरण पनि मन्त्री बाँस्कोटाले गर्नुभयो ।सञ्चारमन्त्री बास्कोटाले गणतन्त्रको रक्षा गर्दै सरकार गरिबि न्यूनिकरण, आधारभुत पूर्वाधारको विकास निर्माण गर्ने नीतिमा केन्द्रित भएर अघि बढिरहेको बताउनुभयो । उहाँले गणतन्त्र प्राप्तिको पहिलो संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै अब गणतन्त्रप्राप्तिको आन्दोलन सकिएको बताउनुभयो । मन्त्री बाँस्कोटाले सबैले समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु पर्नेमा पनि जोड दिनुभयो ।

उहाँले देशको अविभारा हामीलाई आएको छ भन्ने संकल्प लिएर सबै नवनिर्माणको अभियानमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो । उहाँले देश बनाउने अभियान सुरु भएको पनि बताउनुभयो । सरकार भ्रष्टाचार र गरिवी घटाउने अभियानमा सरकार लागेको भन्दै उहाँले त्यो अभियानलाई कमजोर बनाउन केही शक्ति लागेको प्रति आक्रोश व्यक्त गर्नुभयो । बालुवाटार जग्गा प्रकरणमा पनि अनावश्यक रुपमा योजनाबद्ध रुपमा सरकारको आलोचना भैरहेको उहाँले उल्लेख गर्नुभयो । सम्मेलनमा एकल र संयुक्त गरी ३० वटा जागरण गीत प्रस्तुत गरिएको थियो ।