जनतामा उत्साह छाउने गरी आर्थिक वर्ष २०७६–७७ को बजेट सार्वजनिक

Mohan Bastola

काठमाडौँ । दुई–तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकारले जनतामा उत्साह छाउने गरी आर्थिक वर्ष २०७६–७७ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेटलाई अर्थविद्हरुले समेत जनमुखी बजेट भनेका छन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । त्यसैगरी उहाँले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।
त्यसैगरी पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड रुपैयाँसमेत गरी श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गर्नुभएको छ । पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपैयाँ, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड रुपैयाँ, सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ, भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने हवाइ क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ, यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री खतिवडाले बजेट भाषणका क्रममा वर्तमान सरकार समृद्ध नेपाल खुशी नेपालीको आकांक्षा पूरा गरी अघि बढेको भन्दै आगामी आर्थिक वर्षमा दोहोरो अंकको हाराहारीमा आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा समष्टिगत आर्थिक सुचकहरु सन्तोषजनक रहेको भन्दै आर्थिक वर्ष ०७६–७७ को बजेट त्यसैको आधारमा आएको बताउनुभयो । उहाँले वर्तमान सरकार सन् २०३० सम्ममा नेपाललाई मध्ययम आय भएको मुलुकमा रुपान्तरण गर्दै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रतर्क केन्द्रित रहेकाले बजेट त्यसैतर्फ केन्द्रित भएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा अधुरा आयोजनाहरु पूरा गर्ने लक्ष्य सरकारले लिएको पनि बताउनुभयो ।सरकारले आधारभूतसम्म अनिवार्य र माध्यामिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था पनि बजेटमा समावेश गरिएको छ । बजेटमा आगामी आर्थिक वर्षमा ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने, एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था गर्ने जस्ता विषयले पनि बजेटमा स्थान पाएको छ ।

स्तन क्यान्सर पहिचानका लागि निशुल्क सेवाका साथै आठ प्रकारका जटिल असाध्य रोगको निशुल्क उपचारका लागि पनि सरकारले २ अर्व २० करोड बजेट छुट्याएको छ । त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने, आफनो गाउँ आफै बनाउन अभियानलाई प्रभावकारी बनाउने जस्ता कुरालाई पनि बजेटमा विषेश प्राथमिकता दिइएको छ । सरकारले जेष्ठ नागरिकको सम्मान र संरक्षणका लागि सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ । गरिवीको मनोविज्ञानलाई हटाई आत्माविश्वास सिर्जना गर्ने कुरामा पनि बजेटले प्राथमिकता दिएको छ । मुक्त कमैयार हलिया र भूमिहीनलाई भूमिमा पहुँच पुर्याउने कुरामा पनि बजेटमा समावेश गरिएको छ । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रप्मा विकास गर्ने लगायतमा पनि बजेट व्यवस्था गरिएको छ । सबै प्रकारका कार्टेलिङ र सिण्टिकेटको अन्त्य गरी आपूर्ति ब्यवस्थालाई सहज बनाउने उज्यालो नेपाल कार्यक्रमलाई अघि बढाउने जस्ता कुरा पनि बजेटमा प्राथमिकतामा परेका छन् । सरकारले आगामी वर्ष १ हजार मेगावाट विद्यूत केन्द्रीय प्रशारण लाइनमा जोड्ने लक्ष्य लिएको छ । समग्रमा बजेट जनमुखी र जनउत्तरदायी आएको छ ।